ब्रम्हाण्डमा रहेका जैविक, भौतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरूको समग्र अन्तरक्रियात्मक सम्बन्धबाट उब्जिएको परिवेशलाई वातावरण भनिन्छ । हावा, पानी, जमिन, खनिज पदार्थ, वनजंगल, पशुपंक्षी आदि वातावरणका तत्वहरु हुन् । यी तत्वहरू मध्ये कुनै एकमा असर पुग्दा समग्र वातावरणमा असर पुग्छ । विकास भनेको सकारात्मक परिवर्तन हो । मानवीय आवश्यकताका हरेक आधारभूत पक्षहरुमा गुणात्मक परिवर्तन गरी जीवनस्तरलाई सरल तथा सुगम बनाउनु नै विकास हो । भोजन, बसोबास, लत्ता कपडा लगायत शिक्षा , स्वास्थ्य, सञ्चार, यातायात आदि मानिसका आधारभुत आवश्यकताहरु हुन् । यी आवश्यकताहरू पूरा गर्न मानिस पूर्णरूपमा प्राकृतिक स्रोत र साधनमाथि निर्भर रहेको छ । वातावरण र विकास एकआपसमा अन्तर्सम्बन्धित छन् । सन्तुलित विकास विना वातावरण संरक्षण हुँदैन भने वातावरण संरक्षण नभए विकासको आन्तरिक पक्षको खलबलिन पुगी विकास दिगो रहँदैन । नेपालमा विकास निर्माण गर्दा वातावरणीय पक्षलाई उपेक्षा गर्दै आइएको छ । जसका कारणले जनजीवनमा गम्भीर असर देखिन थालेको छ भ...