स्टेफन हकिङ (Stephen Hawking)


स्टेफन हकिङ नाम सुन्‍ने वित्तिकै सबैको मन मष्तिस्कमा एउटा ह्वील चियरमा बसेको, हात खुट्टा नचल्ने बोल्न पनि नसक्ने व्यक्तिको चित्र आइपुग्छ तर धेरैलाई थाहा नहुन सक्छ कि उनी यस समयका महान वैज्ञानिक साथै एउटा दार्शनिक पनि हुन। अनि सुन्दा अचम्म लाग्न सक्छ उनले हरेक दिन जसो यस ब्रमाहण्डको उत्पत्ति, क्‍वान्टम फिजिक्स र गणितको बारेमा लेक्चर दिइरहेका हुन्छन् र अन्तरिक्ष विज्ञान, डार्क म्याटर सम्बन्धि खोज अनुसन्धानमा सक्रिय भइरहेका हुन्छन्। एउटा शारीरिक रूपले तन्दुरूस्त व्यक्तिले पनि गर्न नसक्ने काम उनले कसरी गरिरहेका छन् त यो सबैका लागि कौतुहलताको विषय हुन सक्छ।

को हुन त स्टेफन हकिङ 
स्टेफन विलियम हकिङ को जन्म दोस्रो विश्वयुद्ध ताका ८ जनवरी १९४२ मा इङ्ल्याण्डको अक्सफोर्डमा भएको थियो । उनका पिता फ्र्याङ्क हकिङ र माता इसावेल हकिङ हुन । हकिङ आठ वर्षको हुँदा उनका मातापिताको कामको सिलसिलामा सेन्ट अल्वान्समा बसाइ सरे र त्यहीवाट हकिङको विद्यालय शिक्षा प्रारम्भ भयो । उनी १३ वर्षको हुँदा उनका वुवाले उनलाई राम्रो मानिएको वेस्टमिनिस्टर स्कुलमा पढाउन चाहन्थे तर छात्रवृत्तिको परीक्षाको दिन उनी बिरामी परेकाले छात्रवृत्तिको परीक्षा दिन पाएनन्, छात्रवृत्ति विना उनको परीवारले स्कुलको शुल्क तिर्न सक्दैनथ्यो त्यसैले हकिङ सेन्ट अल्वान्सबाटै विद्यालय शिक्षा पूरा गरे । स्कुल जीवनमा सवैले हकिङलाई आइनस्टाइन भनेर चिन्ने गरिएता पनि उनि पढाईमा त्यति सफल थएनन् । विद्यालय शिक्षा पश्चात उनले युनिभर्सिटी क्याम्पस, अक्सफोर्ड मा भर्ना भए । पिताको रूचि हकिङलाई मेडिसिन पढाउनु थियो भने हकिङको रूचि गणित थियो । त्यस क्याम्पसमा गणित विषय नभएकाले उनले भौतिकशास्त्र पढ्न थाले । क्याम्पसमा उनी अरू भन्दा धेरै सानो उमेरका थिए त्यसैले उनी सारै एक्लो र नियास्रो महसुस गर्दथे। अक्सफोर्डबाट स्‍नातक सकेपछि उनले क्याम्ब्रिज मा स्‍नातकोत्तर शुरू गरे र त्यहीबाट सन् १९६६ मा ब्रहामाण्ड विज्ञान र सापेक्षतावादको सिद्धान्तमा विद्यावारिधी हासिल गरे। 

उनी कसरी अपाङ्ग भए 
सन् १९६३ तिर उनले समान्य हिडडुलमा पनि आफ्नो नियन्त्रण नभएको जस्तो महसुस गर्न थाले, आवाज पनि लटपटिएको जस्तो हुन थाले पछि परीक्षण गराउदा मोटर स्‍नायु मारोग लागेको पत्ता लाग्यो र त्यसबेला डाक्टरहरूले अव उनको आयु २ वर्ष मात्र रहेको वताएका थिए । उक्त रोग ALS (Amyotrophic Lateral Sclerosis) को कारणले विस्तारै अङ्गहरूले काम गर्न छोड्दै गए । सन् १९६५ मा लठ्ठीको साहाराले हिड्नु पर्ने अवस्था आयो, सन् १९६९ तिर ह्वीलचेयर अगाल्न वाध्य भए भने सन् १९७० को दशकको अन्तिम तिर उनले आफ्नो आवाज पूर्णरूपमा गुमाए ।


उनको वैवाहिक पारिवारिक जिवन
स्टेफन हकिङ काम्ब्रिजमा स्नातकोत्तर गरिरहँदा उनको सम्बन्ध जेन विल्ड सँग गासिन पुग्यो पछि सन् १९६५ तिर यही सम्बन्ध विवाहमा परिणत भयो । विवाह पश्चात उनीहरूका २ छोरा, १ छोरी भए । उनीहरूको वैवाहिक जिवनमा खटपटका कारण सम्बन्ध विच्छेद भई आफ्नो स्याहार गर्ने नर्स सँग विवाह गरे पनि त्यो सम्बन्ध लामो समय सम्म रहन सकेन। पछि पुन: पूर्व पत्नी जेन सँग नै बस्न थाले । हाल उनी पत्‍नी जेन, ३ छोराछोरी र ३ नातीनातिनाको साथ बस्छन । उनको बास्तविक जीवनको आधारमा फिल्म The Theory Of Everything (2014) पनि निर्माण भईसकेको छ ।






उनले कसरी काम गर्थे
स्टेफन हकिन्सलाई मोटर स्‍नायु रोग लागि सके पछि विस्तारै उनको हिडडुलमा र आवाजमा असर पर्दै गयो । हिडडुल गर्न नसक्ने अवस्थामा पुगे पछि ह्वील चेयरको साहारा लिन पुगे । सन् १९७०को दशकको अन्तिममा आवाज पूर्ण रूपमा बन्द भएपछि उनलाई ठूलो समस्या पर्न थाल्यो । उनले आँखि भौंको इशाराले केहि कुरा व्यक्त गर्थे, त्यो कुरा उनको परिवार र नजिकका साथिले मात्र बुझ्थे । आफूले गरिरहेको काम अगाडी बढाउन सकेनन्, यसले गर्दा उनी नाम खराब हुन पुग्यो, धेरै जनाबाट टाढा पनि रहनु पर्ने अवस्था आयो । पछि उनको ह्वीलचेयरमा एउटा मिनि कम्प्युटर फिट गरियो। उनको ह्वीचेयरमा राखिएको एउटा स्वीचलाई उनको एउटा औलाले चलाउदा कम्प्युटरमा १५ शब्द प्रतिमिनेट टाइप हुन्थो र स्पीच सिन्थेजाइजरको माध्यमबाट उनले अरूसँग सम्पर्क गर्थे । पछि फेरी औला पनि चल्न छोडे पछि फेरी अर्को समस्या थपिन गयो । हाल इन्टेल र स्वीफ्ट कि का रिसर्चरहरूको टिमको मद्दतबाट उनको गालामा एउटा सेन्सर फिट गरिएको हुन्थ्यो, उक्त सेन्सरले उनको मस्तिष्कको कार्यगत ढाँचा र गालाको मांशपेशिको चालबाट ह्वीलचेयरको कम्प्युटरमा अक्षरहरू टाइप हुन्छन् यसबाटै उनले विभिन्न लेखहरू प्रकाशित गर्ने, अन्तरवार्ताहरू दिने, लेक्चर दिने काम गर्दथे।



उनले गरेका योगदानहरू
स्टेफन हकिङसले ब्रहमाण्ड सञ्चालन गर्ने आधारभूत सिद्धान्तहरूमा काम शुरू गरे जसको नतिजा स्वरूप Quantum Theory र General Theory of Relativity लाई एकीकृत गर्ने आधार प्रदान गर्यो जुन २० औ शताब्दीको सबैभन्दा ठूलो बैज्ञानिक सफलता हो । उनी भन्दा पहिले वैज्ञानिकहरू कालो छिद्र (Black Hole) नै ब्रहमाण्डको अन्त भन्ने बुझाई थियो तर उनका अनुसार कालो छिद्र विस्तारै वाष्पिकरण भई कालो छिद्र सधै कालो नरहने र विस्तारै अन्त हुन्छ भन्ने धारणा दिए । त्यस्तै हकिङका अनुसार मानविय क्रियाकलापकै कारणले अवको लगभग एकहजार वर्ष पछि पृथ्वी मानव जीवनको लागि उपयुक्त हुने छैन र यदि मानवको लागि अर्को स्थान खोज्न सकिएन भने मानव जाति नै लोप हुनसक्ने खतरा औंल्याएका छन् ।


उनको पहिलो प्रकाशित कृति विद्यावारिको शोधपत्र Properties of Expanding Universes (1965) यसपछि उनले हाल सम्म पुस्तक र शोधपत्र गरी २३४ वटा कृतिहरू प्रकाशित गरिसकेका छन् । उनले आफ्नी छोरी लुसी सँग मिलेरा एउटा बालबालिकाको लागि एउटा छुट्टै पुस्तक George's Secret Key to the Universe (2007) पनि प्रकाशित गरेका छन् । उनकामा बहुचर्चित पुस्तकहरू A Brief History of Time (1991), 300 Years of Gravity (1987), Black Holes and Universe (1993), The universe in Nutshell(2001) , My Brief History (2013) रहेका छन् ।



हकिङ वैज्ञानिक मात्र नभएर दार्शनिक पनि हुन। वेला वेला मा उनका भनाईहरू चर्चित हुने गरेका छन्। कुनै वेला बालबालिकालाई दिएको टिप्स यस्तो थियो ”पहिलो कुरा त सधै तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्‍ने आधार दिन्छ। विना काम जिन्दगी खाली खाली हुन्छ । तेस्रो कुरा यदी तिमिहरूले जिन्दगीमा प्रेम अनुभव गर्यौ र त्यस बाट खुसी मिल्यो भने त्यसलाई आफ्नो जिन्दगीबाट कहिल्यै बाहिर नफाल “। त्यस्तै उनका अन्य केही भनाई हरू निम्‍न छन्।


"पछिल्लो ४९ वर्षदेखि मैलै मृत्युको अनुमान लगाइरहेको छु । मलाई मृत्युसँग डर लाग्दैन र मर्ने हतार पनि छैन । मृत्युअघि मैले धेरै काम गर्न बाँकी छ "


"म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।"


"तपाईंलाई कुनै पनि अंगको कमीले केही राम्रो गर्न रोक्दैन । त्यसैले शारीरिक अशक्ततालाई कहिल्यै दुर्भाग्य नसोच्नुस् । आफ्नो काम गर्ने उत्साह अपाङ्ता हुनुमात्रै नराम्रो हो, शरीरमा होइन ।"


"मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन्।"


"ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।"


"अब तपाईंलाई कसैले तैंले गल्ती गरिस् भन्यो भने उसलाई भनिदिनुस्, ‘गल्ती गर्नुपनि एक हिसाबले राम्रो कुरा हो, विनागल्ती न तपाईं जीवित रहनसक्नुहुन्छ, न त म ।"



स्टेफन हकिङको मृत्यु सन् २०१८, मार्च १४ मा इङ्ल्याण्डको क्याम्ब्रिज स्थित आफ्‍नै घरमा ALS रोगबाट भयो । 


स्टेफन हकिङ जो २१ वर्षको उमेर बाटै अपाङ्ग भए र पछि पूर्ण रूपमा पक्षघात को शिकार थिए उनले मानव जीवनको लागि विज्ञानको क्षेत्रमा जुन योगदान पुर्‍याएका छन् त्यो अत्यन्तै सराहनीय र अतुलनीय छ। उनी विश्वभरीका अपाङ्गहरूका लागि प्रेरणाको द्योतक हुन भने सपाङ्गहरूका लागि त झन उर्जाको आधार हुन् । अपाङ्गहरूलाई हेला गर्ने र होच्याउनेहरूका लागि गतिलो उदाहरण हुन । विश्व जगतकालागि एक महान वैज्ञानिक र भविष्यद्रष्टा हुन । 


उनको कामको प्रशंसा गरेर मात्र उनले पुर्‍याएको योगदानको कदर हुदैन । उनले जस्तै गरी विभिन्न समस्याका बावजुत आफ्नो, समाज , देश र सम्पूर्ण मानव जीवनको हितमा कटिबद्ध भएर लाग्‍नु नै उनको सच्चा कदर हुने छ।



स्रोत: http://www.hawking.org.uk
https://en.wikipedia.org/wiki/Stephen_Hawking
https://www.theguardian.com

Comments

Popular posts from this blog

दिगो विकासका सिद्धान्तहरू

दिगो विकासको उद्देश्य तथा महत्त्व

Insert country flag inside google sheet's cell